धनुषा, ११ चैत २०८२— धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको म.प्र. ०२–००८ प १९८९ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०२–००१ च १६७८ नम्बरको महेन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ निवासी सत्यनारायण सिंहका ५० वर्षीय छोरा विनोद सिंह घाइते भएका छन्। घाइते सिंहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, धनुषाधाम नगरपालिका वडा नं. ६ निवासी सहिद खानका ५८ वर्षीय छोरा समिम खानको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिई ढल्केवर प्रहरी चौकीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
