काठमाडौँ, ११ चैत २०८२ । कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे फैलिएको चर्चा र टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस विषयमा स्पष्टिकरण दिएका हुन्।
घिसिङले नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था रहेको स्मरण गराउँदै जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने बताएका छन्।
उनले सरकारमा सहभागिताबारे हालसम्म कसैसँग कुनै प्रकारको छलफल नभएको पनि स्पष्ट पारेका छन्। साथै, हाल फैलाइएका विभिन्न हल्ला र प्रचारप्रति विश्वास नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।
घिसिङका अनुसार उनीहरू अहिले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिक्ने र आफ्नो राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’लाई अझ सुदृढ बनाउने अभियानमा केन्द्रित छन्। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति आफ्नो प्रतिबद्धता अटल रहेको पनि उनले उल्लेख गरेका छन्।
उनले अन्त्यमा आफ्ना विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन्।
