आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कपिलवस्तुमा धार्मिक विवाद चर्कियो: महाराजगञ्जमा निषेधाज्ञा जारी, ८ जना घाइते

कपिलवस्तुमा धार्मिक विवाद चर्कियो: महाराजगञ्जमा निषेधाज्ञा जारी, ८ जना घाइते

86

कपिलवस्तु, ७ चैत — कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर उत्पन्न विवादपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान सुरु भएको विवाद उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्दै निषेधाज्ञा लागू गरिएको हो।

प्रहरीका अनुसार मुस्लिम समुदाय ईदको अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिरमा भजन बजिरहेको विषयलाई लिएर विवाद सुरु भएको थियो। भजनको आवाज कम गर्न गरिएको आग्रह बेवास्ता भएपछि तनाव बढ्दै गएको जनाइएको छ।

स्थिति झन् तनावपूर्ण बन्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा भएको थियो। त्यसपछि आक्रोशित समूहले विरोध प्रदर्शनसमेत गरेका थिए। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए।

घटनामा सुरक्षाकर्मी र सर्वसाधारण गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका ३, सशस्त्र प्रहरीका २ र प्रदर्शनकारी ३ जना रहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महाराजगञ्ज नगरपालिकाको पूर्वमा बडगढी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हदौना क्षेत्रसम्म भेला, जुलुस तथा प्रदर्शनमा रोक लगाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।