आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख घुस लिएको आरोपमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख घुस लिएको आरोपमा मुद्दा दायर

94

काठमाडौं, १ चैत-   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा ७० लाख रुपैयाँ घुस लिएको आरोपसहित उनीविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। उक्त रकम उनले विभिन्न व्यक्तिहरूसँग मिलेर लिएको तथा बैंक खातामार्फत कारोबार गरेको आयोगले जनाएको छ।

अख्तियारका अनुसार अधिकारीले विकास चापागाई, देवेन्द्र केसी र रवीन्द्र लामिछानेलगायत व्यक्तिहरूसँग मिलेर घुसको रकम उनीहरूको बैंक खातामा जम्मा गराएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि उक्त रकम घरजग्गा कारोबारमा प्रयोग गरिएको पनि आयोगको दाबी छ।

आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार अधिकारीविरुद्ध कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको संलग्नताबारे समेत थप अनुसन्धान भइरहेको आयोगले बताएको छ।