काठमाडौं, १ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधीवक्ताको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटको पहिलो नम्बरमा पेशी तोकिएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। सो आदेशमा हेर्न नमिल्ने गरी पेसी नतोक्न तथा बीचमा स्थगन नगर्न समेत निर्देशन दिइएको छ।
सहकारी ठगी मुद्दा खेपिरहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा पनि दर्ता भएको थियो। तर सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।