काठमाडौँ, २८ फागुन – बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि सरकारले उपभोक्तालाई आधा सिलिन्डर मात्रै वितरण गर्ने विकल्पबारे छलफल सुरु गरेको छ। माग अनुसार भारतबाट ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि यस्तो तयारी गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय का सचिव अनिलकुमार सिन्हा का अनुसार १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बिक्री गर्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।
यस सम्बन्धमा अन्तिम निर्णय मन्त्रिस्तरीय बैठक वा नेपाल आयल निगमको सञ्चालक समितिबाट हुने बताइएको छ। निगमले आजै सञ्चालक समितिको बैठक बोलाएको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट ले पनि आपूर्ति सहज बनाउन आधा सिलिन्डर वितरणको विकल्पबारे छलफल भएको बताएका छन्। उनका अनुसार यस्तो व्यवस्था लागू भए उपभोक्ताले हालको मूल्यको आधा रकम तिरेर ७.१ केजी ग्यास पाउनेछन्।
निगमका अनुसार देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रचलनमा छन्।