काठमाडौँ, २७ फागुन — एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। माघ ११ गते प्रेस चौतारी नेपाल द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर बुधबार यो मुद्दा दर्ता गरिएको हो।
उक्त मुद्दामा सुनुवाइ आगामी चैत १ गते (आइतबार) का लागि तोकिएको छ। बस्नेतविरुद्ध अधिवक्ता अवन न्यौपानेले मुद्दा दायर गरेका छन्।
मुद्दामा उल्लेख गरिएको छ कि बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर ढिला गर्ने, दबाबमा पर्ने वा अन्य हस्तक्षेपका कारण न्याय नदिने’ जस्ता अभिव्यक्ति दिएका थिए।
त्यस्तै उनले भनेका थिए, ‘हामी वैदेशिक आक्रमणमा छौं र हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो न्याय प्रणाली नै जलेको छ।’
अधिवक्ता न्यौपानेले अदालतमा बुझाएको रिट निवेदनमा बस्नेतलाई अदालतको अवहेलनामा कारबाही गरी हदैसम्मको सजाय दिन माग गरिएको छ।