आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नयाँ प्रधानन्यायाधीश चयन प्रक्रिया सुरु, ६ न्यायाधीशको नाम संवैधानिक परिषद्मा

नयाँ प्रधानन्यायाधीश चयन प्रक्रिया सुरु, ६ न्यायाधीशको नाम संवैधानिक परिषद्मा

85

काठमाडौँ, २७ फागुन – न्यायपरिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत चैत १८ गते ६५ वर्षे उमेरहदका कारण अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

न्यायपरिषद्ले वरिष्ठताका आधारमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्मा पठाएको हो।

नेपालको संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुने व्यवस्था छ। सोही आधारमा तीन वर्षे कार्यकाल पूरा गरेका न्यायाधीशहरूको नाम सिफारिस गरिएको हो।

सिफारिस गरिएका नाममध्येबाट प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्ले एक जनाको नाम टुंगो लगाई संसदीय सुनुवाइ समितिमा पठाउनेछ र समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ। प्रधानन्यायाधीशको पदावधि ६ वर्षको हुने प्रावधान छ।