आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सर्वोच्चद्वारा रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आइतबारबाट सुनुवाइ

सर्वोच्चद्वारा रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आइतबारबाट सुनुवाइ

109

काठमाडौं, २७ फागुन — सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवाइ सुरु गर्ने आदेश दिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिटलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो। सुनुवाइ सुरु भएको दुई–तीन दिनभित्रै सर्वोच्च अदालतले यसबारे आफ्नो आदेश जारी गर्ने सम्भावना रहेको छ।

महान्यायाधिवक्ता सविना भण्डारी बरालले रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधन गर्ने र त्यस क्रममा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी लगायत तीन जना तथा युवराज पौडेलले अलग–अलग रिट निवेदन दर्ता गराएका हुन्।
सर्वोच्च अदालतले अब ती सबै रिटलाई एकैसाथ नियमित सुनुवाइमार्फत टुंगो लगाउने तयारी गरेको छ।