आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास बिक्री नगर्न महासंघको चेतावनी

कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा ग्यास बिक्री नगर्न महासंघको चेतावनी

118

काठमाडौं, २६ फागुन –  ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले बजारमा ग्यास अभाव भएको र केही स्थानमा विक्रेताहरूले अनुचित मूल्य असुली गरेर उपभोक्तालाई मर्कामा पारेको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार मध्यपूर्वमा देखिएको पछिल्लो अशान्तिका कारण भविष्यमा ग्यास आपूर्ति प्रभावित हुन सक्छ भन्ने चिन्ता उपभोक्तामा देखिनु स्वाभाविक हो। तर यस्तो संवेदनशील परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री–वितरण गर्नु गम्भीर अपराध भएको महासंघले स्पष्ट पारेको छ।

महासंघले देशभरका आमविक्रेतालाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र जिम्मेवार ढंगले सेवा प्रवाह गर्न अपिल गरेको छ।
साथै, संकटको समयमा उपभोक्तालाई ठगी गर्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ। यस्ता गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने विषय सबै जिल्ला संघमार्फत देशभरका विक्रेतालाई जानकारी गराउन समेत निर्देशन दिइएको महासंघले जनाएको छ।