आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कतारका प्रधानमन्त्री अल थानीले इरानलाई खाडी देशमाथिको आक्रमण तुरुन्त रोक्न आग्रह

कतारका प्रधानमन्त्री अल थानीले इरानलाई खाडी देशमाथिको आक्रमण तुरुन्त रोक्न आग्रह

92

काठमाडौं, २६ फागुन –  कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानलाई कतार तथा अन्य खाडी देशमाथि भइरहेको आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन्।

एक विशेष अन्तर्वार्तामा प्रधानमन्त्री अल थानीले इरानले आक्रमणलाई जायज ठहर्याउन विभिन्न बहाना प्रयोग गरिरहेको आरोप लगाए। उनले त्यस्ता सबै तर्क कतारले पूर्ण रूपमा अस्वीकार गर्ने स्पष्ट पारे। उनका अनुसार क्षेत्रीय द्वन्द्व समाधानका लागि कतारले कूटनीतिक पहल गरिरहेको अवस्थामा आक्रमण हुनु ठूलो विश्वासघात भएको हो।

प्रधानमन्त्री अल थानीले कतार सरकारले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्नु प्राथमिकता भएको उल्लेख गर्दै देशको सुरक्षा र जनताको सामान्य जीवन सुरक्षित राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
अल थानीले इरानसँग संवादलाई निरन्तरता दिँदै तनाव कम गर्ने प्रयास जारी रहने पनि बताए। “इरान हाम्रो छिमेकी हो, त्यसैले हामी वार्ता जारी राख्नेछौँ र द्वन्द्व घटाउने उपाय खोज्नेछौँ,” उनले भने।

यसैबीच, अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि त्यसको प्रत्युत्तर स्वरूप इरानले खाडी क्षेत्रका देशहरूमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ। अधिकारीहरूका अनुसार युद्ध सुरु भएयता इरानमा करिब १ हजार २ सय ३० जनाको मृत्यु भएको छ भने लेबनानमा ३ सय भन्दा बढी र इजरायलमा करिब एक दर्जन मानिसको ज्यान गएको जनाइएको छ।