आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News झापा–५ बाट निर्वाचित बालेनले बुझाए निर्वाचन खर्च विवरण, कुल १४ लाख १७ हजार रुपैयाँ खर्च

झापा–५ बाट निर्वाचित बालेनले बुझाए निर्वाचन खर्च विवरण, कुल १४ लाख १७ हजार रुपैयाँ खर्च

98

काठमाडौँ, २५ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्।

उनले बुझाएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा १५ दिनका लागि दुई वटा सवारी साधन भाडामा लिँदा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। उक्त रकम इन्धनसहितको रहेको जनाइएको छ।

त्यस्तै पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ भने मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाजा खर्चमा २८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको जनाइएको छ।

प्रचार–प्रसारतर्फ वडास्तरीय कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। नमूना मतपत्र छपाइमा ४९ हजार ८ सय ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यसैगरी निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र स्टेसनरी सामग्रीमा २२ हजार ८ सय २० रुपैयाँ खर्च भएको जनाइएको छ।

प्रचार सामग्रीतर्फ झण्डा र ब्याचसहितका सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८ सय ८ रुपैयाँ खर्च भएको उल्लेख छ। मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा उल्लेख गरिएको छ।

बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारी को हस्ताक्षरमा निर्वाचन कार्यालयमा बुझाइएको विवरणअनुसार समग्रमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जनाइएको छ।