आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अमरेस सिंह भन्छन्: गगन थापाले भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्नुपर्छ

अमरेस सिंह भन्छन्: गगन थापाले भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्नुपर्छ

101

काठमाडौं, २४ फागुन – 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही–४ बाट निर्वाचित सांसद अमरेस सिंहले नेपाली कांग्रेसका नेता गगन थापालाई लक्षित गर्दै खुला पत्र सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा उनले गगन थापालाई स्वच्छ राजनीतिमा लाग्न आग्रह गरेका छन्।

सिंहले पत्रको सुरुवातमै गगन थापाले सर्लाहीमा आएर चुनाव लडेकोप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले लेखेका छन् कि गगन थापा आफैं उम्मेदवार भएर आएको भए चुनाव अझ रोचक हुने थियो, तर आफूलाई “भ्रष्टहरूद्वारा आयातित उम्मेदवार” बनाइएको आरोप पनि लगाएका छन्।

सिंहले केही व्यक्तिहरूलाई आफूविरुद्ध निजी तथा पारिवारिक जीवनमाथि टिप्पणी गर्न लगाइएको दाबी गर्दै त्यसले आफूलाई खासै फरक नपरेको उल्लेख गरेका छन्। उनका अनुसार राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने विश्वास आफूले राख्दै आएको बताए।

पत्रमा उनले चुनावका तिता अनुभवहरूलाई अब बिर्सेर देश निर्माणतर्फ अघि बढ्नुपर्ने उल्लेख गरेका छन्। साथै आगामी दिनमा विभिन्न राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने संकेत पनि दिएका छन्।

सिंहले रास्वपाले भ्रष्टाचारविरुद्ध जनमत प्राप्त गरेको दाबी गर्दै गगन थापालाई पनि “भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न” आग्रह गरेका छन्। उनले गगन थापाले नेपाली कांग्रेस परिवर्तन गर्न खोजे पनि आफू परिवर्तन हुन नसकेको टिप्पणी गर्दै उनको आगामी राजनीति सफा र पारदर्शी होस् भन्ने कामना व्यक्त गरेका छन्।