काठमाडौं, १९ फागुन – निर्वाचन आयोगले मतपत्र तथा मतपेटिका कब्जामा लिए एक लाख रुपैयाँसम्म जरिवाना, दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।
आयोगले जारी गरेको सन्देशमा निर्वाचनमा प्रयोग गरिने वा प्रयोग भइसकेका मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा प्रयोग हुन नदिन कुनै किसिमको रोकावट वा हस्तक्षेप नगर्न सबैलाई सचेत गराइएको छ।
‘कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमको रोकावट वा हस्तक्षेप गर्न वा गराउन हुँदैन,’ आयोगले स्पष्ट पारेको छ।
आयोगका अनुसार यस्ता कार्य निर्वाचन कसुर अन्तर्गत पर्ने भएकाले प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ। निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षलाई जिम्मेवार र सचेत रहन आयोगले आग्रह गरेको छ।