वीरगंज, १८ फागुन – प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले आज राति १२ बजेदेखि पर्सा जिल्लाका सबै सीमा नाकाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
प्रशासनले सूचना जारी गर्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सिमानामा कडाइ गरिएको जनाएको हो। निर्वाचन अवधिभर अत्यावश्यक सेवाबाहेकका आवतजावतमा रोक लगाइनेछ भने सुरक्षा निकायलाई उच्च सतर्कतामा राखी मुख्य नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन गरिने प्रशासनले जनाएको छ।
भारतसँग जोडिएका सिमानामा विशेष निगरानी बढाइएको र शंकास्पद गतिविधि, अवैध सामग्री ओसारपसार तथा चुनाव प्रभावित गर्ने कुनै पनि गतिविधि हुन नदिन कडाइका साथ जाँच गरिने उल्लेख छ।
स्थानीयवासीलाई अनावश्यक आवतजावत नगर्न र प्रशासनलाई सहयोग गर्न आग्रह गर्दै मतदान सम्पन्न भएसँगै सिमाना पुनः सञ्चालनमा ल्याइने जनाइएको छ | साथै निर्वाचन स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आचारसंहिता पालना गर्न प्रशासनले अपिल गरेको छ।
