आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News निर्वाचन सामग्री ढुवानी तीव्र, दुर्गममा हेलिकप्टर र कर्मचारीकै काँधमा भर

निर्वाचन सामग्री ढुवानी तीव्र, दुर्गममा हेलिकप्टर र कर्मचारीकै काँधमा भर

80

काठमाडौं, फागुन १८ — निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री देशभरका मतदान केन्द्रमा पठाउने कामलाई तीव्रता दिएको छ। आयोगका अनुसार मतपत्र, मतपेटिका, मतदान अधिकृतका कागजात, सुरक्षा सामग्री तथा अन्य प्राविधिक उपकरण धमाधम सम्बन्धित स्थानतर्फ ढुवानी भइरहेका छन्।

सुगम तथा सडक सञ्जालले जोडिएका जिल्लाहरूमा सवारीसाधनमार्फत सामग्री पठाइएको आयोगले जनाएको छ। ट्रक, जीप तथा अन्य हलुका सवारी प्रयोग गरी जिल्लास्थित निर्वाचन कार्यालयसम्म सामग्री पुर्‍याइएको र त्यहाँबाट मतदान केन्द्रसम्म वितरण प्रक्रिया अघि बढाइएको छ।

यता, सडक पहुँच नभएका तथा दुर्गम हिमाली भेगमा भने हेलिकप्टर प्रयोग गरिएको छ। विशेष गरी उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा समयमै सामग्री पुर्‍याउन हवाई मार्गको सहारा लिइएको आयोगले स्पष्ट पारेको छ। मौसमको अवस्था अनुकूल रहेकाले हालसम्म ढुवानी कार्यमा कुनै ठूलो अवरोध नआएको जनाइएको छ।

केही अत्यन्त दुर्गम हिमाली जिल्लाहरूमा भने कर्मचारी तथा निर्वाचन सुरक्षामा खटिएका प्रहरी नै सामग्री बोकेर पैदल मार्ग हुँदै मतदान केन्द्रसम्म पुगेका छन्। कठिन भौगोलिक अवस्थाका कारण सवारीसाधन वा हेलिकप्टर पुग्न नसक्ने स्थानमा मानव श्रमकै भर पर्नु परेको हो।

आयोगका प्रवक्ताले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। मतदान अधिकृत तथा कर्मचारीहरू आ–आफ्नो कार्यस्थलतर्फ प्रस्थान गरिसकेको र सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको उनले बताए।

निर्वाचनको दिन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढेको छ। आयोगले मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।