काठमाडौं, फागुन १८ — फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि सुरु भएसँगै कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न, भोट माग्न वा कुनै प्रकारको चुनावी गतिविधि सञ्चालन गर्न पाइने छैन।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि मतदान कार्य सम्पन्न नभएसम्म लागू रहनेछ। त्यसैले आज दिनभर राजनीतिक दल तथा तिनका उम्मेदवारहरू चुनावी सभा, घरदैलो र प्रचारप्रसारमा व्यस्त देखिएका छन्।
मौन अवधिको व्यवस्था शान्त र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले गरिएको हो। मतदानका क्रममा प्रतिस्पर्धीहरूबीच विवाद वा झडप नहोस् तथा कुनै अप्रिय घटनाले मतदाता आतंकित नबनाओस् भन्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार मौन अवधि लागू गरिन्छ। यसले उम्मेदवारहरूबीच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।
यदि मौन अवधिको व्यवस्था नराखी मतदानको अघिल्लो दिनसम्म प्रचारप्रसार गर्न छुट दिइएमा उम्मेदवार र राजनीतिक दलहरूले मतदातालाई प्रभावित पार्ने जोखिम रहने विज्ञहरू बताउँछन्। मौन अवधिमा प्रचारप्रसारका गतिविधि बन्द हुँदा शान्त वातावरणमा मतदाता उत्साहित भएर मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।
निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने उल्लेख छ। मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन निर्देशन दिनेछ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी आयोजना गर्न पाइने छैन। सामाजिक सञ्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न निषेध गरिएको छ।
त्यस्तै, राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले कुनै पनि माध्यमबाट मत माग्न वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रसार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। उल्लंघन गरेमा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।
निर्वाचन आयोगले सबै सरोकारवालालाई आचारसंहिता पालना गरी शान्त, निष्पक्ष र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।