काठमाडौँ, १७ फागुन — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं हाल विघटित प्रतिनिधि सभा सदस्य रन्जिता श्रेष्ठविरुद्ध दायर भ्रष्टाचार मुद्दामा थुनामा राखी मुद्दाको पुर्पक्ष गराउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। २०८२ असोज २२ गते आरोपपत्र दायर भएको उक्त मुद्दामा विशेष अदालत, काठमाडौँले २०८२ फागुन १० गते पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो।
तर उक्त थुनछेक आदेश बेरितको देखिएको भन्दै आयोगले प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा आइतबार निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने उल्लेख गरेको छ। साथै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को परिच्छेद ७ अन्तर्गत दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको आयोगको विज्ञप्तिमा जनाइएको छ।