वीरगन्ज, १७ फागुन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले शनिबार बिहान वीरगञ्ज महानगरपालिका–३ अन्तर्गत छपकैयामा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग भेटघाट गरेकी छन्।
कार्यक्रममा रिमा यादवलाई मतदाताले फूलमाला तथा गम्छा ओढाएर स्वागत गरेका थिए। घरदैलो कार्यक्रममा थुप्रै मतदाता, कार्यकर्ता र नेताहरूको उपस्थिति रहेको थियो। उम्मेदवार यादवले सुख–दुःखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्दै मधेश आन्दोलनको बलबाट स्थापित संघीयता जोगाउन मतदान गर्न अपिल गरिन्।
वर्तमान अवस्थामा मुलुक जोगाउने र अस्थिरता निम्त्याउने शक्तिबीच ध्रुवीकरण भइरहेको उल्लेख गर्दै देशको स्थायित्व र विकासका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिन्। उनले एमालेले अघि सारेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि तथा समाजवाद उन्मुख विकासको मार्गलाई आत्मसात् गर्दै अघि बढेको बताउँदै गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग विस्तार, महिला सशक्तीकरण तथा युवालाई अवसर सृजना आफ्ना प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरिन्।
सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसानघाट, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारका क्षेत्रमा काम गरेको दाबी गर्दै संसद्मा पर्साका मुद्दा निरन्तर उठाउँदै आएको उनले स्मरण गराइन्।