आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News युवा स्वरोजगार र कृषि आधुनिकीकरणमा जोड दिँदै अनिल रुङटाको घरदैलो अभियान

युवा स्वरोजगार र कृषि आधुनिकीकरणमा जोड दिँदै अनिल रुङटाको घरदैलो अभियान

74

पर्सा–१७ फागुन – प्रतिनिधिसभा निर्वाचन लक्षित पर्सा क्षेत्र नं–१ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेस का उम्मेदवार अनिल रुङटा को घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। भेडियाहि वडा नम्बर–३१ का विभिन्न टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा अन्तरक्रिया गर्दै रुख छापमा मतदान गर्न आग्रह गरिरहेका छन्।

घरदैलो कार्यक्रमका क्रममा रुङटाले स्थानीय बासिन्दाका गुनासा, सुझाव र अपेक्षा ध्यानपूर्वक सुन्दै विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा पूर्वाधार निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले भेडियाहि क्षेत्रमा चुनावी माहोल उत्साहपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्।

भेडियाहि टोलमा आयोजित भेटघाट कार्यक्रममा उनले समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य अपरिहार्य रहेको धारणा राखे। स्थानीयवासीहरूले दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुङटाप्रति समर्थन जनाएका छन्।

महिला सशक्तीकरणलाई विशेष प्राथमिकतामा राख्दै रुङटाले महिला उद्यमशीलता प्रवर्द्धन, आयआर्जनसँग जोडिएका कार्यक्रम तथा सहकारीमार्फत आर्थिक सबलीकरणको योजना अघि सारेका छन्। सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यमको प्रवर्द्धनमार्फत महिलालाई आत्मनिर्भर बनाइने उनले बताएका छन्।

“महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले उनीहरूको अवसर र पहुँच सुनिश्चित गरिनेछ।”

त्यसैगरी, युवा स्वरोजगार प्रवर्द्धन, कृषि आधुनिकीकरण, साना उद्योग विकास तथा स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणमा विशेष पहल गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। आगामी निर्वाचनमा मतदाताले विकास, स्थायित्व र समृद्धिको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै रुङटाले घरदैलो अभियानलाई थप सशक्त बनाउने बताएका छन्।