आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भ्रामक प्रचार नगर्न सञ्चारकर्मीलाई आईजीपी दानबहादुर कार्कीको आग्रह

भ्रामक प्रचार नगर्न सञ्चारकर्मीलाई आईजीपी दानबहादुर कार्कीको आग्रह

94

काठमाडौँ, १६ फागुन – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई गलत र भ्रामक प्रचार नगरी संयमित रूपमा सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।

निर्वाचन अनुगमनका क्रममा गोरखा पुगेका कार्कीले जिल्ला प्रहरी कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रहरी अधिकारीहरूलाई अनुशासित, निष्पक्ष र कर्तव्यनिष्ठ ढङ्गले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले प्रहरी अधिकारीलाई “माइलमा दौडिएर इन्चमा हार्ने” काम नगर्न सुझाउँदै कार्यसम्पादनमा सन्तुलन र व्यावसायिकता कायम गर्न आग्रह गरे।

कार्यक्रममा उनले विशेषगरी टिकटक  लगायत सामाजिक सञ्जाल प्रयोगमा सजग रहनुपर्ने बताउँदै निर्वाचन प्रहरी परिचालनलाई सकारात्मक र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे। साथै निर्वाचन आचारसंहितासँगै प्रहरी आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो।

जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित निर्वाचनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले सुरक्षाकर्मी, राजनीतिक दल, सञ्चारकर्मी तथा नागरिक समाज सबैले मौन अवधिको सम्मान गर्नुपर्नेमा जोड दिए। सही र तथ्यपरक समाचार सम्प्रेषणमार्फत राष्ट्रिय अखण्डता तथा सम्मान जोगाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने उनले बताए।

“हामी नै असभ्य व्यवहारमा उत्रियौँ भने बाह्य शक्तिले आएर रोक्ने अवस्था हुँदैन,” उनले भने, “गलत र भ्रामक प्रचारले स्थिति बिगार्न सक्छ, त्यसैले सञ्चारकर्मीहरू संयमित र जिम्मेवार हुन आवश्यक छ।”