जनकपुरधाम, धनुषा, १६ फागुन – धनुषा जिल्लामा प्रेम सम्बन्धकै कारण १९ वर्षीय एक युवकको हत्या भएको घटना सार्वजनिक भएको छ। जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनाबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार हंसपुर नगरपालिका–९ रुदौलीका १९ वर्षीय सुमित मण्डल बिहीबार दिउँसो औरही गाउँपालिका–६ स्थित खेतमा मृत अवस्थामा फेला परेका थिए। शव घाँटी अगाडिबाट धारिलो हतियार प्रयोग गरी रेटिएको अवस्थामा भेटिएको थियो भने शरीरका विभिन्न भागमा कुटपिटका गम्भीर चोटसमेत देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनास्थलको प्रकृति हेर्दा हत्या योजनाबद्ध र क्रूर तरिकाले गरिएको प्रारम्भिक अनुमान गरिएको छ। अनुसन्धानका क्रममा मृतकको सोही नगरपालिका–६ बस्ने १७ वर्षीया काजलकुमारी मण्डलसँग करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरका अनुसार बुधबार काजलको घरमा परिवारका अन्य सदस्य नभएको मौका पारेर सुमित उनलाई भेट्न गएका थिए। सो क्रममा काजलका काका २९ वर्षीय परमेश्वर मण्डलले सुमितलाई घरभित्र देखेपछि नियन्त्रणमा लिई काजलका दाजु २० वर्षीय दिपेशकुमार मण्डललाई बोलाएको अनुसन्धानबाट खुलेको छ।
दुवै जनाले मिलेर सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधी निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटपछि गम्भीर घाइते भएका सुमितलाई मोटरसाइकलमा राखी करिब डेढ किलोमिटर टाढा रहेको खेतमा लगिएको थियो।
त्यसपछि धारिलो हतियार (खुकुरी) प्रयोग गरी सुमितको घाँटी रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। घटनापछि आरोपीहरू फरार भए पनि अनुसन्धानका क्रममा पहिचान गरी पक्राउ गरिएको हो।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी, मोटरसाइकल तथा बाँध्न प्रयोग गरिएको सामग्रीसमेत बरामद गरेको जनाएको छ। बरामद सामग्री परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।
प्रहरीका अनुसार घटनाको मुख्य कारण प्रेम सम्बन्धप्रति परिवारको असहमति र त्यसबाट उत्पन्न आक्रोश रहेको देखिएको छ। विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका काजलकुमारी मण्डल, दिपेशकुमार मण्डल र परमेश्वर मण्डलविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।