पर्सा, १५ फागुन – नेपाली कांग्रेस का पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटा ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ अन्तर्गत लक्ष्मणवाका विभिन्न टोलमा घरदैलो अभियानमा मतदातासँग प्रत्यक्ष भेटघाट एवम संवाद गरेका छन्।
उनले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै महिला सशक्तीकरणका लागि उद्यमशीलता प्रवर्द्धन, सीप तालिम, सहुलियत ऋण र चौतर्फी विकासमा महिलालाई आर्थिक रूपमा सबल बनाउने योजना राखेका छन्।
घरदैलो कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले लक्ष्मणवाको चुनावी माहोल उत्साहपूर्ण बनाएको थियो । रुङटाले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शितामार्फत समृद्ध वीरगञ्ज निर्माण सम्भव हुने धारणा राख्दै स्थानीय सरकार, प्रदेश र संघबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
साथै युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गर्ने पनि उनले स्पष्ट पारेका छन् र आगामी निर्वाचनमा मतदाताले विकास, स्थायित्व र सुशासनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्दै लक्ष्मणवासहित समग्र वीरगञ्जको समुन्नत भविष्य निर्माणमा सहकार्यका लागि आह्वान गरेका छन्।
