आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जागिर लोभमा सब–इन्जिनियरको हत्या, वैकल्पिक उम्मेदवारसहित तीन पक्राउ

जागिर लोभमा सब–इन्जिनियरको हत्या, वैकल्पिक उम्मेदवारसहित तीन पक्राउ

78

मलङ्गवा, सर्लाही १५ फागुन — सर्लाही सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न तीन जना अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको हो।

मधेश प्रदेश लोक सेवा आयोग ले वि.सं. २०८१ फागुन ४ गते लिएको सहायक पाँचौँ तहको सब–इन्जिनियर पदमा मृतक यादवको नाम सिफारिस भएको थियो भने महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई हाल बरहथवा नगरपालिका–९ शान्ति टोलमा बस्दै आएका ३४ वर्षीय गणेशकुमार महतो वैकल्पिक सूचीमा रहेका थिए।

नियुक्त उम्मेदवारको एक वर्षभित्र मृत्यु भएमा वैकल्पिक उम्मेदवारलाई सिफारिस गर्ने प्रावधानको लोभमा परी महतोले हत्या योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का का अनुसार मुख्य योजनाकार महतोले आफ्ना सालो २२ वर्षीय चन्द्रकिशोर कुशवाहा र भाइ २२ वर्षीय विजयकुमार महतोको सहयोगमा घटना घटाएका हुन्। फागुन ३ गते मलङ्गवा नगरपालिका–१० स्थित डेराको बरन्डामा यादवमाथि गोली प्रहार गरिएको थियो।

प्रहरीका अनुसार महतोले दशैँअघि नै हत्याको योजनासहित भाइ विजयकुमारलाई पेस्तोल खरिदका लागि ८० हजार रुपैयाँ उपलब्ध गराएका थिए। घटनामा प्रयोग गरिएको पेस्तोल, एक थान खोका, एउटा मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा हतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राई ले जानकारी दिनुभयो। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।