झापा, १४ फागुन — आगामी निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले झापा जिल्लामा सुरक्षा व्यवस्था थप कडा बनाएको छ। सुरक्षा संवेदनशीलताको विश्लेषणपछि जिल्ला प्रहरी कार्यालयसँगै डिएसपी र इन्स्पेक्टरसहित ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो।
सुरक्षा समन्वयको जिम्मेवारीका लागि बुधबारदेखि एसएसपी गोविन्द अधिकारी झापामा खटिएका छन्। उनी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन् र झापा र इलाम जिल्लामा समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका कारण झापा जिल्ला सुरक्षा निकायले उच्च संवेदनशील जिल्ला भनेर परिचालन बढाएको हो।
जिल्लाको नियमित कमान्ड भने एसपी बसुन्धरा खड्का ले गर्दै आएकी छन्। प्रत्येक निर्वाचन क्षेत्रमा डिएसपीको कमान्डमा प्रहरी परिचालन भइरहेको छ।
प्रहरी प्रधान कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचनका बेला सुरक्षाकर्मी परिचालन र समन्वयमा विशेष ध्यान दिने जनाएको छ।