वीरगञ्ज, १३ फागुन — अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–१८ स्थित मनियारी भवानीपुरमा सञ्चालन गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुङटाले बुधबार बिहान आयोजित कार्यक्रममा नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागिताबीच स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने उक्त वडामा घरदैलो गर्दै रुङटाले लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन तथा देशको समग्र विकासका लागि कांग्रेस सक्षम र प्रतिबद्ध दल भएको दाबी गरे। स्थायित्व, सुशासन र समृद्धिका लागि कांग्रेसलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरे।
उनले युवाको सक्रिय सहभागिता र नवीन सोचका कारण कांग्रेस व्यवहार र विचार दुवै हिसाबले रूपान्तरण हुँदै गएको उल्लेख गरे। नीतिगत स्पष्टता र समावेशी दृष्टिकोणका कारण पार्टीप्रति जनविश्वास बढिरहेको उनको भनाइ थियो।
रुङटाले जनअपेक्षा सम्बोधन गर्न अनुभव र ऊर्जा दुवै भएको दल कांग्रेस रहेको बताउँदै विकासलाई नारामा सीमित नराखी योजनाबद्ध तथा परिणाममुखी कार्यमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिबाट निकास दिन कांग्रेस नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले समावेशी विकास, जनअधिकार संरक्षण, आर्थिक सबलीकरण तथा दीगो राजनीतिक स्थायित्व कांग्रेसकै नेतृत्वमा सम्भव हुने बताए।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुधारसम्बन्धी अपेक्षा राखेका थिए। कांग्रेसका उम्मेदवार अनिल रुङटाले ती मागप्रति प्रतिबद्धता जनाउँदै निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहने विश्वास दिलाए।
