आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News संगठित अपराध अन्तर्गत फेक रेस्क्यू अनुसन्धान, दुई नियन्त्रणमा

संगठित अपराध अन्तर्गत फेक रेस्क्यू अनुसन्धान, दुई नियन्त्रणमा

88

काठमाडौं, १३ फागुन — केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतारोहण क्षेत्रमा देखिएको फेक रेस्क्यू प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ।
सिआइबीले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई नियन्त्रणमा लिएको जनाएको हो।

प्रहरीका अनुसार सन्दीप तिवारीलाई मंगलबार पक्राउ गरिएको हो भने राजेन्द्रबहादुर सिंहलाई बुधबार बिहान नियन्त्रणमा लिइएको हो। यस प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित स्थानीय एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसमेत गरी हालसम्म ९ जना पक्राउ परिसकेका छन्।

यसअघि सिआइबीले माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा। गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूमाथि राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।

माघ ११ गते सिआइबीले पर्वतारोहणका लागि नेपाल आएका विदेशी पर्यटकलाई लक्षित गर्दै बिमाको रकम असुली गर्न संगठित रूपमा ठगी भइरहेको सूचना पाएपछि अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा प्रारम्भिक चरणमा ६ जनालाई पक्राउ गरिएको थियो।