वीरगंज, १० फागुन – पर्सा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले जगरनाथपुर गाउँपालिका वडा नं. २२ मा व्यापक घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्न पुगेका रुङटालाई फूलमाला र अबिरसहित उत्साहपूर्ण स्वागत गरिएको थियो। उम्मेदवारको आगमनसँगै गाउँ–टोलमा समर्थकहरूको बाक्लो उपस्थिति देखिँदै राजनीतिक चहलपहल बढेको र क्षेत्रको चुनावी माहोल थप तातेको स्थानीयले बताए ।
घरघरमा पुगेर मतदातासँग हातेमालो गर्दै उनले जनताका गुनासा, सुझाव र अपेक्षाहरू सुन्नुका साथै विकाससम्बन्धी प्रतिबद्धता व्यक्त गरेका थिए।
बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी स्थानीयवासीहरूले रुङटालाई विकासप्रेमी तथा जनताका सुख–दुःखका साथीका रूपमा चित्रित गर्दै आगामी निर्वाचनमा समर्थन रहने बताएका छन्।
भेटघाटका क्रममा टोलवासीहरूले सक्षम नेतृत्वमार्फत क्षेत्रको समग्र विकास सम्भव हुने धारणा राखेका थिए। पछिल्ला दिनमा घरदैलो, भेला तथा अन्तरक्रियात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेकाले पर्सा क्षेत्र नं. १ मा चुनावी गतिविधि क्रमशः तीव्र बन्दै गएको देखिएको छ।
