रौतहट, गौर १० फागुन — रौतहटको गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेदसहित २३ जनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएकाहरुविरुद्ध कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार बिहीबार साँझ दुई पक्षबीचको विवादबाट सुरु भएको झगडा बढ्दै गएपछि गौर क्षेत्र तनावग्रस्त बनेको हो। संवेदनशील अवस्था कायम रहेकाले प्रशासनले शनिबार दिउँसो १ बजेदेखि लागू गरेको कर्फ्यु आदेश अझै जारी राखेको जनाएको छ।
स्थिति नियन्त्रणमा राख्न गौर नगरक्षेत्रमा आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पालना गर्न तथा अफवाहमा नलाग्न आग्रह गरेको छ।