आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

69

सर्लाही, ७ फागुन — सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडक खण्डमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजेको समयमा भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३५ वर्षीय मुकेश राय र ३० वर्षीय राम ज्ञान रायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।
प्रहरीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपि ३८०९ र एच पि ५५ सि ०६२३ नम्बरका तीनवटै भारतीय मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूलाई प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडल अस्पताल लालबन्दी पठाएको थियो। घाइतेमध्ये हरिपुर्वा–९ का २२ वर्षीय बिक्रम राय र ४२ वर्षीय राम बिश्वास रायको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय केशरगञ्जका डीएसपी सरोज राईका अनुसार घाइते दुवै जनाको उपचार भइरहेको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।