काठमाडौं, ६ फागुन – आगामी आमनिर्वाचन आउन १५ दिन मात्र बाँकी रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमति र समझदारीबिना चुनावमा जानु उपयुक्त नहुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले वर्तमान राजनीतिक परिस्थितिमा पर्याप्त सहमति र स्थिरता कायम नगरी निर्वाचन गरिनु उचित नहुने धारणा व्यक्त गरेका हुन्। राजनीतिक दलहरू यतिबेला घरदैलो, सभा, जुलुस तथा प्रचारप्रसारका विभिन्न कार्यक्रममा व्यस्त रहेका बेला पूर्वराजाको यस्तो अभिव्यक्ति आएको हो।
उनले जेन जी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन गराउने तयारी गरिरहेको सन्दर्भ उल्लेख गर्दै अहिलेको परिस्थितिमा त्यसलाई पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्। “समझदारी र राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचनमा जानु देशका लागि हितकर हुन्छ,” उनले सन्देशमा भनेका छन्।
पूर्वराजा शाहले प्रजातन्त्रमा जनता स्वयं सचेत र सक्रिय भई समाज तथा राष्ट्रसेवामा अग्रसर हुन पाउनुपर्नेमा जोड दिँदै अहिलेको व्यवस्थामा नागरिकहरू बाध्यात्मक अवस्थाको जन्जिरमा बाँधिएको जस्तो अनुभूति भइरहेको टिप्पणी गरेका छन्। आफ्नो सन्देशमार्फत उनले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि पनि दोहोर्याएका छन्।
यता अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने देश निर्वाचनमा होमिइसकेको अवस्थामा तोकिएकै समयमा चुनाव सम्पन्न हुने बताएका छन्। “सरकार निर्धारित मितिमै निर्वाचन गराउने तयारीमा छ,” रावलको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।