काठमाडौँ, ४ फागुन – निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ६२ बुँदे निर्देशन जारी गरेको छ। दल र उम्मेदवारले प्रचारप्रसार फागुन ४ देखि १८ गते राती १२ बजेसम्म मात्र गर्न पाइनेछ।
आयोगले मतदातालाई डर–धम्की, लोभलालच, सामाजिक बहिष्कार वा धर्मका आधारमा प्रभाव पार्न निषेध गरेको छ। नगद वा जिन्सी उपहार, सार्वजनिक भोज तथा आर्थिक प्रलोभन दिन–लिन नपाइनेछ।
प्रचारका क्रममा राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भावमा असर पर्ने, घृणा वा हिंसा फैलाउने र चरित्रहत्या गर्ने काम गर्न नहुने उल्लेख छ।
७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्चसम्मको एउटै रङको पर्चा (मुद्रकको नामसहित) बाहेक पोस्टर, ब्यानर, भित्तेलेखन, डिजिटल बोर्ड प्रयोग गर्न नपाइनेछ। धार्मिक, ऐतिहासिक वा सार्वजनिक स्थानमा पर्चा टाँस्न र अनावश्यक साउन्ड सिस्टम प्रयोग गर्न रोक लगाइएको छ।
मतदान हुनुभन्दा ४८ घन्टाअघिदेखि मतगणना नसकिँदासम्म कुनै पनि प्रचार गर्न पाइने छैन। सरकारी वा सार्वजनिक सवारीसाधन, कर्मचारी र स्रोतसाधन प्रयोग गर्न नपाइनेछ।
२५ हजार रुपैयाँभन्दा बढी सहयोग बैंक खातामार्फत मात्र लिनुपर्नेछ र खर्चको विवरण तथा बिल पेस गर्नुपर्ने नियम छ। बालबालिका प्रयोग गर्न, घरधनीको अनुमति बिना झन्डा वा चिन्ह राख्न र कार्यालयबाहेक अन्यत्र प्रचार सामग्री प्रदर्शन गर्न पनि निषेध गरिएको छ।