मलंगवा, ३ फागुन – मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको छ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७:५० बजे ३६ वर्षीय यादवमाथि अज्ञात व्यक्तिहरूले गोली चलाएका हुन्। गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सिराहा जिल्लाको सुखिपुर गाउँपालिका–३ वैशाखा घर भएका यादव विगत एक वर्षदेखि मलंगवामा डेरा गरी बस्दै आएका थिए। परिवार स्रोतका अनुसार अज्ञात व्यक्तिले उनलाई फोन गरी घर बाहिर बोलाएका थिए। बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको बताइएको छ।
प्रहरीका अनुसार यादवको शरीरमा एक गोली लागेको थियो। घटनापछि आक्रमणकारी फरार रहेका छन्। घटनाको कारण खुल्न नसकेको र संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।