काठमाडौँ, फागुन २ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने ट्राफिक प्रहरी कर्मचारीहरूका लागि निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित उक्त कार्यक्रममा निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने तथा मतदान प्रक्रियालाई प्रभावकारी र सुरक्षित बनाउन ट्राफिक प्रहरीको भूमिका विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा सुरक्षा व्यवस्थामा अपनाउनुपर्ने भूमिका, निर्वाचनमा प्रहरीको जिम्मेवारी, सम्भावित समस्या तथा चुनौतीहरूको व्यवस्थापन, सुरक्षा दिनुपर्ने संवेदनशील क्षेत्रहरूको पहिचान, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू, हतियार ह्याण्डलिङ सम्बन्धी आधारभूत जानकारी, निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षाकर्मीले पालना गर्नुपर्ने आचरण, तथा निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ लगायतका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।
अनुशिक्षण कार्यक्रममा कुल १०१४ जना ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको कार्यालयले जनाएको छ।
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र सुरक्षित वातावरणमा सम्पन्न गराउन यस प्रकारको तालिम प्रभावकारी हुने प्रहरी स्रोत ले जनाएको छ।
