आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बजारमा ग्यास अभावको गुनासो बढेपछि टेकुबाटै बिक्री सुरु

बजारमा ग्यास अभावको गुनासो बढेपछि टेकुबाटै बिक्री सुरु

71

काठमाडौँ,माघ २९ –बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ।

डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री सुरु गरेको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन्। उनका अनुसार नेपाल ग्यासको वितरण सुरु भइसकेको छ भने एभरेस्ट र सुगम ग्यासका लागि काउन्टर पनि तत्काल सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हल्ला चलिरहेका बेला प्रवक्ता ठाकुरले आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। भन्सारको तथ्याङ्कअनुसार मागअनुसार नै ग्यास आयात भइरहेको उनको भनाइ छ।

एउटै सिलिन्डरमा निर्भर सर्वसाधारण उपभोक्ता बढी मर्कामा परेको र ग्यास नपाएर समस्या भोग्नुपरेको गुनासोलाई सम्बोधन गर्न निगमले आकस्मिक रूपमा यो बिक्री कक्ष सञ्चालनमा ल्याएको जनाएको छ। टेकुस्थित कार्यालयबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास बिक्री वितरण हुने निगमले जानकारी दिएको छ।