आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आश्वासन होइन काम गर्छु: पर्सा–२ मा एमाले उम्मेदवार रिमा यादव

आश्वासन होइन काम गर्छु: पर्सा–२ मा एमाले उम्मेदवार रिमा यादव

169

पर्सा, २६ माघ-  प्रतिनिधि सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) की उम्मेदवार रिमा कुमारी यादव जीततर्फ अग्रसर देखिएकी छन्। चुनावी माहोल तातिँदै जाँदा यादवले घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएकी छन्।

निर्वाचनको समयमा अधिकांश नेताहरूले विगतका गल्ती सुधार्ने र भविष्यमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्ने गरे पनि मतदाताहरू यसपटक नयाँ अनुहारप्रति आकर्षित देखिएका छन्। नयाँ उम्मेदवार भएकै कारण रिमा यादवप्रति जनताको चासो र विश्वास बढ्दै गएको स्थानीयहरू बताउँछन्। “यसपटक पुरानै आश्वासन होइन, काम गरेर देखाउने उम्मेदवार चाहिएको छ,” भन्ने आवाज मतदातामाझ सुनिन थालेको छ।

घरदैलो अभियानका क्रममा यादवले आफू विकास गर्न सक्षम, इमानदार र जनउत्तरदायी प्रतिनिधि भएको दाबी गर्दै आएकी छन्। उनले आश्वासनभन्दा कामलाई प्राथमिकतामा राखेर जनताको भरोसा जित्ने प्रतिबद्धता जनाएकी छन्। “अब ढिला भयो भने जनताको जीवनस्तर कहिल्यै सुधारिँदैन,” भन्दै उनले पर्सा–२ को समग्र विकासका लागि निर्णायक नेतृत्व आवश्यक रहेको बताइन्।

यादवले आफ्नो जन्मभूमि र कर्मभूमि यही क्षेत्र भएको उल्लेख गर्दै पर्सा क्षेत्र नं. २ लाई विकासको माध्यमबाट अन्य क्षेत्रभन्दा नमुना बनाउने लक्ष्य लिएको स्पष्ट पारिन्। शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ।

उनले नेकपा (एमाले) लाई मत दिएर विजयी गराउन मतदातासँग आग्रह गर्दै भनिन्, “यो क्षेत्रको भविष्य सुरक्षित र समृद्ध बनाउन एमालेको विकल्प छैन।” जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूले गरेको वाचा पूरा गरेर देखाउने विश्वास दिलाउँदै आएकी छन्।

स्थानीयबासीका अनुसार नयाँ अनुहार, सक्रिय घरदैलो अभियान र विकासमुखी एजेन्डाका कारण रिमा कुमारी यादव पर्सा–२ मा बलियो प्रतिस्पर्धीका रूपमा उदाएकी छन्। चुनाव नजिकिँदै जाँदा उनको पक्षमा जनसमर्थन बढ्दै गएको देखिन्छ।