पर्सा, २३ माघ – पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत नेकपा एमालेको चुनाव परिचालन कमिटीको बैठक पार्टी सम्पर्क कार्यालय वीरगंजमा सम्पन्न भएको छ। बैठक नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज, वीरगञ्ज महानगरपालिकाका प्रथम नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
बैठकमा नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ का अगुवा नेता, कार्यकर्ता तथा विभिन्न तहका नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित बैठकले पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा होमिने स्पष्ट नीति तय गरेको छ।
बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवलाई पूर्ण साथ–समर्थन गर्ने र सबै नेता–कार्यकर्ता एकजुट भई आफ्ना उम्मेदवारलाई जिताउने निर्णय गरेको छ। निर्वाचनमा सफलता हासिल गर्न प्रत्येक कार्यकर्ता र नेतृत्वकर्ताको भूमिका अहम हुनेमा बैठकले जोड दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजय कुमार सरावगीले अब ठोस निर्णय लिएर दृढ संकल्पका साथ निर्वाचनमा लाग्नुपर्ने समय आएको बताउनुभयो। उहाँले प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउनु सम्पूर्ण पार्टी पंक्तिको साझा दायित्व र जिम्मेवारी भएको स्पष्ट पार्नुभयो।
सरावगीले पर्सा क्षेत्र नम्बर २ मात्र होइन, पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जीत सुनिश्चित गर्न संगठनात्मक रूपमा मजबुत भई योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष सम्पर्क, पार्टीको नीति–कार्यक्रमको प्रचार–प्रसार र उम्मेदवारको पक्षमा प्रभावकारी अभियान सञ्चालन गर्न सबै नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो।
