आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News “अब विकास चाहियो” भन्दै पर्सा–१ का मतदाताको रोजाइमा अनिल रुन्गटा

“अब विकास चाहियो” भन्दै पर्सा–१ का मतदाताको रोजाइमा अनिल रुन्गटा

147

वीरगञ्ज, २३ माघ- पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसप्रति मतदाताको उत्साह उल्लेखनीय रूपमा बढ्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुन्गटाप्रति जनताको भरोसा थप बलियो बन्दै गएको देखिन्छ। जनताको बढ्दो समर्थनले आफूलाई अझ जिम्मेवार र उत्साही बनाएको नेपाली कांग्रेस का उम्मेदवार रुन्गटाले बताएका छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय जनतासँग संवाद गर्दै रुन्गटाले जनताको साथ, सहयोग र विश्वास यसरी नै कायम रहिरहे आगामी दिनमा विकास निर्माण तथा जनताको जीवनस्तर उकास्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले पर्सा क्षेत्र नं. १ लाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा समग्र विकासका क्षेत्रमा अगाडि बढाउने स्पष्ट प्रतिबद्धता जनाए।

“मसँग आवश्यक अनुभव, स्रोत र इच्छाशक्ति सबै छ। अबका दिनमा जनताको समस्या समाधान र विकासमा प्रत्यक्ष योगदान गर्नेछु,” रुन्गटाले भने। उनले विगतमा यसै क्षेत्रबाट निर्वाचित भई मन्त्रीसमेत बनेकाहरूले अपेक्षित विकास गर्न नसकेकोप्रति दुःख व्यक्त गर्दै अब परिवर्तन आवश्यक रहेको बताए।

पर्सा १ का उमेदवार अनिल कुमार रुन्गटाले वडा नं. १६ इनार्वामा सम्पर्क कार्यालय स्थापनापछि गरिएको घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले यसपटक अनिल कुमार रुन्गटालाई नै मत दिएर विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय मतदाताहरूले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सृजना गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको बताउँदै रुन्गटालाई नै समर्थन गर्ने जनाएका हुन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। जनताको माया र बढ्दो उत्साह अनि समर्थनले नेपाली कांग्रेस तथा उम्मेदवार रुन्गटाको अभियानलाई थप ऊर्जा मिलेको देखिन्छ।