काठमाडौं, ३० पुष- निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन गर्न नमिल्ने अन्तर्राष्ट्रिय निर्वाचन कानुनको मान्यता रहेको बताएका छन्। काठमाडौँमा आयोजित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीहरूको अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै उनले आयोगमाथि प्रणाली परिवर्तनको दबाब आएको बताए।
आयुक्त भण्डारीले मिति घोषणा भइसकेपछि विधि परिवर्तन गर्दा अन्तर्राष्ट्रिय स्तरमा निर्वाचनको निष्ठामाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए। अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचनलाई दबाब र प्रभावमा भएको ठहर गरेमा त्यसको नकारात्मक प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्ने उनको भनाइ थियो।
विदेशी सहायता उपलब्ध नभएकाले हाल स्वदेशी स्रोत र साधन प्रयोग गरेर निर्वाचन गराउने तयारी भइरहेको उनले बताए। बैदेशिक सहायताबाट प्राप्त सवारीसाधन आवश्यकता अनुसार व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे।
आचारसंहिता अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले समस्या पहिचान र समाधानमा ध्यान दिन आग्रह गरे। साथै, सुरक्षा अवस्थाका कारण निर्वाचन क्षेत्रभित्र जान नसकिने अवस्थामा सदरमुकामबाटै निर्वाचन गराउन सरकार र आयोग तयार रहेको बताए।