काठमाडौँ, ३० पुष — नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६ सय ३ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गत कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणका पिभिसी तार हराएको पाइएपछि अनुसन्धान थालिएको थियो। स्टोरबाट ७० मि.मि.का १७४ मिटर र १२० मि.मि.का ७४६ मिटर पिभिसी तार हराएको भनी केन्द्रका तत्कालीन स्टोर प्रमुखले २०८० वैशाख ५ गते कार्यालय प्रमुखसमक्ष निवेदन दिएका थिए।
अनुसन्धानका क्रममा ती तार हिनामिना गरी नेपाल विद्युत प्राधिकरणलाई आर्थिक हानी नोक्सानी पुर्याएको पुष्टि भएपछि सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सुरक्षा गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको आरोप लगाइएको छ। आयोगले १३ लाख ९३ हजार ६ सय ३ रुपियाँ बिगो रकम कायम गरी कैद, जरिवाना तथा बिगोसमेत असुल उपर गर्न माग दाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
120