काठमाडौं, २९ पुष — भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ५ सय ३८ वटा सवारी साधन सहयोग गर्ने भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार निर्वाचन व्यवस्थापन, सुरक्षा तथा अनुगमन कार्यलाई सहज बनाउन भारतले यो सहयोग उपलब्ध गराउन लागेको हो।
स्रोतका अनुसार यसअघि भएको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहार दिएको थियो। तर यसपटक निर्वाचनको आकार, सुरक्षाको संवेदनशीलता तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै भारतले उल्लेख्य रूपमा सहयोग बढाएको हो। सहयोगस्वरूप आउने ५ सय ३८ वटा गाडीमध्ये ३०० वटा नेपाल प्रहरीलाई प्रदान गरिनेछ। यी गाडीहरू निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन, मतपेटिका ढुवानी, सुरक्षाकर्मी परिचालन तथा आकस्मिक अवस्थाको व्यवस्थापनमा प्रयोग गरिने बताइएको छ। बाँकी गाडीहरू निर्वाचन आयोग, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत विभिन्न सरकारी निकायलाई उपलब्ध गराइनेछ।
भारतले उपलब्ध गराउने गाडीहरूमध्ये करिब १०० वटा विशेष सुविधासहितका हुनेछन्। ती गाडीहरू दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा प्रयोग गर्न मिल्ने किसिमका रहेको बताइएको छ। विशेष सुविधायुक्त गाडीमा सञ्चार उपकरण, मजबुत इन्जिन क्षमता तथा लामो दूरीमा सहज रूपमा सञ्चालन गर्न सकिने प्रविधि जडान गरिएको हुने स्रोतको भनाइ छ।
निर्वाचन आयोगका अनुसार भारतले सहयोगस्वरूप दिने गाडीहरू यसै सातादेखि नेपाल भित्र्याउने तयारी भइरहेको छ। आवश्यक कागजी प्रक्रिया पूरा भइसकेको र सीमावर्ती नाकाबाट चरणबद्ध रूपमा गाडी नेपाल प्रवेश गराइने जनाइएको छ।
निर्वाचन आयोगले भारत सरकारको यस सहयोगप्रति आभार व्यक्त गर्दै यसले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। आयोगका अधिकारीहरूका अनुसार सवारी साधनको अभावका कारण विगतमा देखिएका केही व्यवस्थापकीय चुनौतीहरू यसपटक कम हुने अपेक्षा गरिएको छ।