काठमाडौँ, ९ पुस- नेपाली कांग्रेसले प्रदेशसभा अन्तर्गतको समानुपातिक बन्दसूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशसभा बन्दसूचीमा रहेका र आफ्नो नाम हटाई संघीय समानुपातिक सूचीमा जान इच्छुक १९ जनाको नाम बैठकमा प्रस्तुत गरी पारित गरिएको हो।
‘प्रदेशसभाको बन्दसूचीमा रहेका साथीहरू बन्दसूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहने १९ जनाको सूची बैठकमा पढियो र त्यसलाई पास गरियो,’ प्रवक्ता महतले भने, ‘यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराइने निर्णय भएको छ।’
पार्टीको यो निर्णयसँगै सम्बन्धित १९ जनाको नाम प्रदेशसभा समानुपातिक सूचीबाट हटाइनेछ। यसबारे थप प्रक्रिया निर्वाचन आयोगसँग समन्वय गरेर अघि बढाइने नेपाली कांग्रेसले जनाएको छ।