काठमाडौं, ९ पुस — राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। विभागका अनुसार हालसम्म कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ र आवश्यक परेकालाई तत्काल राहदानी उपलब्ध गराइनेछ।
यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको विभागले जनाएको छ। राहदानी पुस्तिकाको आपूर्तिसँगै विभाग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।
विभागका अनुसार राहदानी पुस्तिका पर्याप्त मात्रामा उपलब्ध भएपछि पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट आवेदन दिएका सेवाग्राहीलाई राहदानी वितरण गरिने बताएको छ।
गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीलाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएका सेवाग्राहीलाई क्रमशः राहदानी वितरण गरिने विभागले स्पष्ट पारेको छ।
अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भएकाले अब राहदानी वितरण प्रक्रिया सहज र नियमित रूपमा सञ्चालन हुने राहदानी विभागको भनाइ रहेको छ।