काठमाडौं, १० पुस- वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा छलफल गर्न विभिन्न राजनीतिक दल तथा अभियानसँग आबद्ध नेताहरू भेला हुन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), कांग्रेस नेता सुनील शर्मा तथा जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ कुपण्डोलस्थित एक ठाउँ मा वार्ता भइरहेको छ ।
वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि भर्खरै छलफल स्थलमा पुगेका छन् भने सुदन गुरुङ यसअघि नै त्यहाँ पुगिसकेका थिए । रास्वपा सभापति लामिछानेसँग असिम शाह र गणेश कार्की पनि सहभागी छन् ।
यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि लामिछाने र बालेन शाहले आजको छलफलमा अन्य नेताहरूलाई पनि सहभागी गराउने निर्णय गरेका हुन् । सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेन शाहले गर्ने र पार्टीको नेतृत्व आफूले सम्हाल्ने प्रस्ताव रवि लामिछानेले राखेको समाचार सार्वजनिक भएको थियो । अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव पनि आएको बताइएको छ ।
यद्यपि ती प्रस्तावहरूमा ठोस सहमति नभए पनि छलफल सकारात्मक दिशामा अघि बढेको उनीहरू निकट नेताहरूले बताएका छन् । पछिल्ला केही दिनयता मेयर बालेन शाहको राजनीतिक सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ । रवि लामिछानेलाई भेटेपछि बुधबारदेखि उनले विभिन्न राजनीतिक शक्ति, व्यक्तित्व तथा जेनजी अभियन्ताहरूसँग निरन्तर छलफल गर्दै आएका छन् ।
आजै बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिङलगायत अन्य व्यक्तिहरूसँग पनि छलफल गरेको जनाइएको छ ।
105