121
सर्लाही, २५ मङ्सिर — सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नक्कली नेपाली नोटसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। भारततर्फबाट नेपाल आउँदै गरेका ३० वर्षीय फिरोज खानलाई ९५ थान एक हजार दरका नक्कली नोटसहित पक्राउ गरिएको हो। खान सर्लाहीकै कौडेना गाउँपालिका–५ छपकैया निवासी हुन्।
‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा सवारी भएका खानलाई इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले बुधबार राति नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार खानको साथबाट बरामद गरिएको नोट नक्कली भएको प्रारम्भिक जाँच–पड़तालमै पुष्टि भएको छ। हाल घटनाबारे थप छानबिन भइरहेको र नक्कली नोट नेपाल भित्र्याउने समूह तथा स्रोतका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।