मोरङ, २५ मङ्सिर- मोरङ प्रहरीले रंगेली नगरपालिका–८ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बुधबार राति विद्युत् कार्यालय नजिकैको खेतमा परालले छोपेर लुकाइ–छिपाइ राखिएको अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार खेतमा रहेको रुखमुनि परालले बेरेर राखिएको अवस्थामा गाँजा भेटिएको थियो। बरामद गरिएको गाँजा २९ वटा बोरामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा कसले ल्याएर खेतमा लुकाइ राखेको हो भन्नेबारे भने अझै खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गाँजा मोरङ–सुनसरी हुँदै भारत तस्करी हुने गरेको र यही तस्करीका लागि गाँजा लुकाइएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ। प्रहरीले बरामद गरिएको गाँजासहित घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।