काठमाडौँ, १९ मङ्सिर – जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा भएको दमन र त्यसपछि भोलिपल्ट भएको तोडफोडबारे सत्य–तथ्य छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालसँग लगातार बयान लिइरहेको छ। आयोगले दुई दिनदेखि रिजालको बयान लिइरहेको छ भने शुक्रबारसम्म बयान सकिने अनुमान गरिएको छ।
आयोगका एक सदस्यका अनुसार माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर हुँदै संसद भवन प्रवेश गर्न उद्यत भएपछि तत्कालीन सिडिओ रिजालले ‘बल प्रयोगसहित गोली चलाउन’ आदेश दिएको प्रारम्भिक अभिलेखमा उल्लेख छ। सोही विषयमा विस्तृत स्पष्टीकरण माग्दै आयोगले विस्तारित बयान लिइरहेको बताइएको छ।
जेन–जी आन्दोलनलगत्तै नयाँ सरकार गठन भएपछि सरकारले छवि रिजाललाई काठमाडौंको सिडिओ पदबाट हटाएर सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेको थियो। आयोगले उनलाई अनुमति विना काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ भने पासपोर्ट रोक्का राख्न समेत सिफारिस गरेको थियो।
उता, आन्दोलन दमनमा संलग्न अन्य सुरक्षकर्मी तथा सरोकारवालाहरूले लिखित जवाफमा ‘जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा प्रमुख जिल्ला अधिकारीकै हुने भएकाले निर्णयसमेत उनको आदेशअनुसार गरिनुपर्ने’ उल्लेख गरेका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा पनि शान्ति सुरक्षाको जिम्मेवारी सिडिओकै क्षेत्रमा पर्ने र जिल्लामा खटिएका सुरक्षाकर्मीहरू उनी मातहत रहने स्पष्ट पारेका छन्। उनले भनेका छन्, “त्यो दिन काठमाडौंको शान्तिसुरक्षाको जिम्मा प्रमुख जिल्ला अधिकारीकै थियो।”
त्यस्तै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीले ‘सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएको’ दाबी आफ्नो लिखित जवाफमा गरेका छन्। आयोगले अब रिजालको अन्तिम बयान लिएर अन्य सरोकारवालाको अभिलेखसँग तुलना गरी प्रतिवेदन तयार गर्ने तयारी गरेको जनाएको छ।