मधेस प्रदेश, १८ मङ्सिर – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन तीव्र रूपमा छलफलमा जुटेको छ। नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसदहरू औपचारिक–अनौपचारिक बैठकमार्फत साझा सहमति जुटाउने प्रयासमा छन्। संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बुधबार सदनमा विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएसँगै प्रदेश प्रमुख कार्यालयले शुक्रबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेको छ। अहिले सातै दल सहमतिमा जाने प्रयासमा छन्, जसअनुसार मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरूको भागबण्डा समेटिनेछ।
कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाबाट निर्वतमान मुख्यमन्त्री सतिश सिंह दाबेदारका रूपमा देखिएका भए पनि छलफलमा क्रमशः कृष्ण यादवको पक्ष बलियो बन्दै गएको दलभित्रको मूल्यांकन छ। सभामुखको पद रिक्त रहेकाले जसपा नेपालले सभामुख पदको दाबी गर्दै कांग्रेसलाई मुख्यमन्त्री दिन तयार रहेको बताइएको छ। जसपाले नेतृत्वको दाबी नगरी सहमतिको नाममा सघाउने संकेत गरेको छ। अर्कोतर्फ एमालेका नेता तथा पूर्वमुख्यमन्त्री सरोज यादवले मधेस प्रदेशको स्थायित्वका लागि जसले सरकार बनाए पनि विश्वासको मत दिने घोषणा गरेपछि कांग्रेसको सम्भावना झन् बढेको विश्लेषण गरिएको छ।
जनमतसहितका अन्य दलहरू प्रभावशाली मन्त्रालयहरूको उचित भागबण्डा खोज्दै छन्। मधेश प्रदेशसभामा १०७ सदस्य छन् र सरकार गठनका लागि ५४ मत आवश्यक छ। हाल दलहरूको संख्या यस्तो छ— एमाले २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ९, एकीकृत समाजवादी १, राप्रपा नेपाल, नागरिक उन्मुक्ति तथा नेपाल संघीय समाजवादी पार्टीमा १–१ सिट रहेको छ | सातदलीय गठबन्धनले साझा सहमति जुटाए मधेशमा नयाँ सरकार गठनतर्फको मार्ग स्पष्ट हुने संकेत देखिएको छ।