आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रौतहटमा २५ वर्षीया महिलाको हत्या, घरमै खाडल खनी शव गाडिएको अवस्थामा फेला

रौतहटमा २५ वर्षीया महिलाको हत्या, घरमै खाडल खनी शव गाडिएको अवस्थामा फेला

125

रौतहट, ९ मङ्सिर – रौतहटको वृन्दावन नगरपालिका–९, भुसाहामा एक २५ वर्षीया महिलाको हत्या गरी घरमै खाडल खनी गाडिएको अवस्थामा शव फेला परेको छ। वृन्दावन–९ भुसाहाका शेख आदिलकी श्रीमती तरीमा खातुन सोमबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घर भित्रै भुस राख्ने स्थानमा खाडल खनेर पुरिएको अवस्थामा खातुनको शव फेला पारेको हो।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको थियो भने टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ। घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित परिवारका अन्य सदस्य डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई लिएर फरार रहेको प्रहरीले जनाएको छ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।