काठमाडौँ, ९ मङ्सिर- आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आफ्नो दल दर्ता प्रक्रिया पूरा गरेको छ। मंगलबार एमालेका वरिष्ठ नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै दल दर्ता गरेका हुन्।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीले लोकतान्त्रिक प्रक्रियाअनुरूप आफ्नो दल अद्यावधिक गरेको हो। “हामीले हाम्रो दल अद्यावधिक गर्यौँ। लोकतान्त्रिक पार्टी भएकाले एमाले सधैँ लोकतान्त्रिक प्रक्रियामा अपडेट रहन्छ,” आचार्यले बताए।
यसैबीच, आजै एमालेले विद्यमान राजनीतिक परिस्थितिप्रति आपत्ति जनाउँदै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पनि दर्ता गरेको छ। एमालेले संसद् विघटन असंवैधानिक रहेको दाबी गर्दै तत्काल पुनर्स्थापनाको आग्रह गरेको छ। एमालेको दल दर्ता र अदालती प्रकृयासँगै आगामी निर्वाचनअघि राजनीतिक चहलपहल थप तीव्र भएको देखिन्छ।